General note:
|
शरीर, मन, इन्द्रिय र आत्माको संयोग नै आयु हो। निरन्तर रूपमा चल्ने, एक क्षण पनि नरोकिने भएकाले यसलाई नित्यग पनि भनिन्छ । त्यस आयुको ज्ञान जुन शास्त्र वा विद्याबाट प्राप्त हुन्छ, त्यो आयुर्वेद हो। आयुर्वेद मनुष्य जस्तै पशुपक्षी तथा विभिन्न बनस्पतिसँग पनि सम्बन्धित छ । ज्ञानको प्रारम्भ सृष्टिभन्दा पहिला भएको हो भन्ने केही विद्वान्को मत अनुसार आयुर्वेदको उत्पति पनि प्रजाको उत्पत्तिभन्दा पहिला नै भएको हो। आयुको कामना गर्ने जो कोहीका लागि आयुको लागि के हितकर छ र के अहितकर छ भन्ने कुराको ज्ञान आवश्यक छ। त्यसैले आयु सम्बन्धी ज्ञान शाश्वत छ । केवल यसको बोध र उपदेश मात्र ग्रन्थहरूमा उल्लेख गरिएको हो । जसरी शिशुको जन्मपूर्व नै आमाका स्तनमा उसका लागि पोषणको साधन 'दूध' उत्पन्न हुन्छ, त्यसरी नै सृष्टिपूर्व नै परमात्माले जीविकाका साधन बनाएका थिए भन्ने गरिन्छ। ती साधन मध्ये आयुर्वेद पनि एक हो। त्यसैले यसलाई प्राचीन एवं शाश्वत मानिन्छ
|